२०८१ फागुन २०, मङ्गलवार , ११:५४:५१ बजे

Sajhamanch
'

फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ ।

राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बसेको थियो । अब अर्को बैठक फागुन २२ गते बस्दैछ ।

सार्वजनिक क्यालेन्डर अनुसार फागुन २२, २३ र २५ गते राष्ट्रिय सभाको बैठक बस्नेछ । त्यसपछि अर्को बैठक चैत महिना लागेपछि मात्रै बस्नेछ ।

२२ गते संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने तालिका छ । त्यसदिन दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८० माथि छलफल गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि छ ।

२३ गते कृषि तथा पशुपन्छी मन्त्रालय र युवा तथा खेलकुद मन्त्रीसँग प्रश्नोत्तर हुनेछ । त्यसदन सामाजिक सञ्जाल विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभाबाट पारित भएर गएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन विधेयक) माथि दफावार छलफलको निर्णय पनि त्यस दिन सभाले गर्नेछ । त्यसदिन सभामा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७९/०८० को छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि छ ।

२५ गते राष्ट्रिय सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि दफावार छलफलको निर्णय हुनेछ । विधायन व्यवस्थाको प्रतिवेदनसहित तिलगंगा नेत्र विश्व विद्यालय विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची पनि त्यस दिनका लागि राखिएको छ ।

सम्बन्धित खबर