२०८१ फागुन १९, सोमवार , ०८:५५:०५ बजे

Sajhamanch
'

‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत शिवसताक्षीमा सरोकारवालाहरुसँग छलफल

सोमवार, फागुन १९, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्बन्धमा छलफल चलिरहेको छ ।

नगरपालिकाका वडा नं. १, २, ३ र ८ मा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो ।

सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, सहकारी, निजी विद्यालय, होटल व्यवयसायी, ठेक्केदार तथा ढुवानी व्यवसायी, उद्यमी, व्यवसायिक किसान, बैदेशिक रोजगार सम्बद्ध सरोकारवाला, रिटर्नी संस्थाका प्रतिनिधि, बुद्धिजिवी र अन्य व्यवसायीहरुसँग छलफल गरेको रोजगार सेवा कन्द्रका प्रमुख विदुर तिम्सिनाले जानकारी दिए ।

केन्द्रका प्रमुख तिम्सिनाले सहजीकरण गरेको कार्यक्रममा ४ वटै वडाबाट सरोकारवाला नियकायका अध्यक्ष तथा प्रतिनिधिहरु १०० जनाभन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न स्थानीय तहको भूमिका, आन्तरिक रोजगारीमा आवश्यक सीप विकास तथा लगानीको आवश्यकता र वैदेशिक रोजगारीको अवसर र चुनौतीबारे चर्चा गरेका थिए ।

सहभागीहरूले युवा विदेशिनु पर्ने बाध्यता, नेपालमा रोजगारीको अस्थिरता, न्यूनतम ज्याला पाउने समस्या र सीप अभावजस्ता विषयमा छलफल गरेका थिए ।

रोजगारी सम्बन्धी समस्याको समाधानका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न उद्योग र उद्यमशीलतालाई प्रवर्धन गर्नुपर्ने सुझाव दिइयो ।

साथै, प्रविधिमा आधारित सीपमूलक तालिमको आवश्यकता, न्यूनतम ज्याला सुनिश्चित गर्ने नीति र सुरक्षित वैदेशिक रोजगारीका लागि प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याइएको थियो ।

सहभागीहरुले नगरभित्र दक्ष जनशक्ति उत्पादनका लागि बजार मागमा आधारित भएर सीप विकासका कार्यक्रमहरु चलाउनु पर्ने सुझाब दिएका थिए ।

नगरपालिकाका अधिकांश क्षेत्रहरु कृषिमा आधारित भएकाले कृषिको व्यवसायिकरण तथा प्रशोधनमा आधारित उद्योग स्थापना र विकास जोड दिनु पर्नेमा अधिकांश सहभागीहरुको भनाई थियो ।

नगरपालिकाले नगर क्षेत्रको रोजगार नक्सांकन गर्ने प्रयोजनका लागि रोजगार सेवा केन्द्रले नगरका ११ वटै वडामा छलफल चलाउने जनाएको छ ।

सम्बन्धित खबर