
भद्रपुर । ओमसाई पाथीभरा अस्पताल मातहतको नर्सिङ कलेजमा भर्ना भई अध्ययन सुरु गरेका नयाँ विद्यार्थीलाई आज विशेष कार्यक्रममार्फत् स्वागत गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सम्बन्धनमा २०८१ मंसीर २१ गतेबाट कलेजको मान्यता पाएपछि नर्सिङ कलेजमा स्टाफ नर्स र फार्मेसी पढ्न आएका विद्यार्थीहरूलाई कलेजले स्वागत गरेको हो ।
अस्पतालका निर्देशक बालकुमार पोखरेल (साइराम)को अध्यक्षता तथा अध्यक्ष दिपक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई अविर र खादा पहिर्याएर स्वागत गरिएको थियो ।
कार्यक्रममा स्वागत गर्दै कलेजका प्रिन्सिपल ज्योति भट्टराईले पहिलोपटक प्राविधिक शिक्षातर्फ अगाडि बढेको अस्पतालले उच्च स्तरीय सीपसहितका विद्यार्थी उत्पादनको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
ओमसाई पाथीभरा हस्पिटलले नर्सिङ कलेज सञ्चालन गरेपछि स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी पढ्न पूर्वदेखि सुदुर पश्चिमसम्मका विद्यार्थी आएका उनको भनाई छ ।
सीटीइभिटीले यही शैक्षिक सत्रबाट कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न थालेको अस्पलातका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम)ले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिए पछि चालू शैक्षिक वर्षबाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको अध्यक्ष दिपक पोखरेलको भनाई छ ।
उनका अनुसार प्रत्येक कार्यक्रममा ४०/४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ ।
नर्सिङ कलेजका प्रिन्सिपल ज्योति भट्टराईका अनुसार कलेजमा स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ३७ जना विद्यार्थी अध्ययन गरिरहेको छन् ।
यसैगरी नर्सिंङ सेवाका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको सम्मानमा दीप प्रज्वलन समेत गरिएको कार्यक्रमको सञ्चालन पवित्रा ढुंगाना, आरूसी खनालले गरेका थिए ।