२०८१ फागुन १८, आइतवार , ०८:०४:५८ बजे

Sajhamanch
'

मेचीनगरमा आधुनिक मौरीपालन सम्बन्धी तालिम सुरु

आइतवार, फागुन १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा मेचीनगर–२ स्थित बौद्धमोडमा आधुनिक मौरीपालन सम्बन्धी ५ दिवसीय तालिम सुरु भएको छ । आधुनिक मौरीपालन तालिम फागुन २२ गते समापन हुनेछ ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मौरीपालक किसानलाई महको बजारीकरणमा सहयोग गर्ने बताए ।तालिममा सहभागी कृषकहरुलाई उनले मौरीपालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न र बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताएका हुन् ।

तालिममा मेचीनगर वडा नं. १, २, ३, ४ र ९ का ६० जना मौरीपालक कृषकहरुलाई सहभागी गराइएको नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले जानकारी दिए ।

उनका अनुसार सहभागीलाई दुई सिफ्टमा बाँढेर तालिम सञ्चालन गरिने छ । जसमा वडा नं. १ र ४ बाट १२÷१२ जना, २ नं. वडाबाट ६ जना, ३ नं. वडाबाट १२ जना र ९ नं. बाट १२ जना कृषकको सहभागिता रहेको छ ।

तालिममा सहभागीहरुलाई इलामको रोङ गाउँपालिकाका मौरी पालन विज्ञ कुमार मोक्तान र रोङ गाउँपालिकाका कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिइरहेका छन् ।

तालिममा झापामा प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमको इन्टर्नसीप गरिरहेका दुईजना महिलाहरु पनि सहभागी भएका छन् ।

मेचीनगर २ का वडाध्यक्ष दिपक बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आर्थिक विकास समितिका संयोजक तिलजा देवानले सहभागी एवम् अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले गरेका थिए ।

सम्बन्धित खबर