२०८१ फागुन १८, आइतवार , ०२:४२:३९ बजे

Sajhamanch
'

नेपालमा यो वर्षको प्रि-मनसुन सुरु

आइतवार, फागुन १८, २०८१

काठमाडौँ । यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो ।

अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म रहन्छ । प्रि–मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो ।

तीन महिने प्रि– मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘हामीले मार्च, अप्रिल र मेलाई प्रि–मनसुन भन्ने गरेका छौँ,’ उनले भनिन्, ‘मार्च १ तारिखबाट प्रि–मनसुन लागेपछि साँझ पाखा स्थानीय प्रणालीबाट एक्कासि बादल बनेर मेघ गर्जन हुने, चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ ।’

उनका अनुसार अब बिस्तारै अधिकतमरन्यूनतम तापक्रम बढ्दै जान्छ । जाडोयाम सकिए लगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् मानन्धरले बताइन् । तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने उनले बताइन् ।

उनका अनुसार प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ ।

आज जनकपुरमा सबैभन्दा बढी तापक्रम हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जनकपुरमा सबैभन्दा बढी तापक्रम ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको हो । यहाँको न्यूनतम तापक्रम ३० डिग्री छ । यस्तै, विराटनगरको तापक्रम २९ देखि ३१ डिग्रीसम्म हुनेछ ।

धरानको तापक्रम २८ देखि ३० डिग्रीसम्म रहेको महाशाखाको अनुमान छ । काठमाडौँको तापक्रम २२ देखि २४ डिग्रीसम्म रहेको छ । सबैभन्दा कम तापक्रम जुम्लामा आज राति माइनस एक डिग्रीसम्म हुने महाशाखाको अनुमान छ । आज कुनै पनि सहरमा पानी पर्ने सम्भावना देखिँदैन ।

सम्बन्धित खबर