२०८१ फागुन १९, सोमवार , १२:१७:१९ बजे

Sajhamanch
'

हिमपातले सडक र पैदल यात्रामा समस्या

आइतवार, फागुन १८, २०८१

रुकुमपूर्व । देशका हिमाली र उच्चपहाडी भेगमा हिमपात हुँदा कृषिबालीलाई फाइदा पुगेको छ भने सडक र पैदलमार्गमा समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवारदेखि हिजोसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात भएको छ ।

रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । अस्ति रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेका तीन वटा बससँगै अरु साना गाडीमा रहेका यात्रुको उद्धार गरिएको छ ।

हिमपातका कारण बाटो बन्द भएपछि अस्ति दिउँसोदेखि बस रुकुमपूर्व र बाग्लुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र अलपत्र थिए ।

हिजो दिनभरी मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए।

रुकुमपूर्वको लुकुम–पातिहाल्ना खण्डको लगभग पाँच किलोमिटर र बाग्लुङ खण्डको दुई किलोमिटरमा रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उहाँले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाइएको थियो । रुकुमपूर्व र बाग्लुङ सिमानामा वर्षेनि हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ ।

यसैबीच सशस्त्र प्रहरी बलले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । गोरखाको चुमनुब्री–१ साम्दो क्षेत्रमा तीन फिटसम्म हिउँ परेकोले त्यस पदमार्गमा यात्रा गर्ने पर्यटकलाई सावधान रहन भनेको हो ।

हिमपातले बाटोघाटो अवरुद्ध भएपछि बीओपी साम्दोले हिउँ पन्छाउने काम निरन्तर गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा अहिले सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भइसकेका छन् । उनका अनुसार अन्य ठाउँमा पनि बीओपी स्थापना गरिने योजना छ ।

हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ ।

सम्बन्धित खबर