
काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आउँदै छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका छन् । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका छन् । ‘नमस्ते सबै जनालाई । जीजी बुफोन हेयर । म मार्च पहिलो हप्ता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदैछु । सबैलाई त्यहाँ भेटौँला’, उनले भनेका छन् ।
केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् । दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४ गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।