
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, मुसिकोट–२ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन् ।
उनीहरूले रोजगारीका लागि विभिन्न देशहरूको बाटो हुँदै अमेरिका लैजाने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।