
मोरङ । मोरङको बूढीगंगामा बुधबार बिहानका राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर बिहान २ः३० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
उनका अनुसार हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज. १२ प. ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको जानकारी लम्सालले दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ३ः३० बजेतिर मृत्यु भएको हो ।
इन्स्पेक्टर लम्सालका अनुसार दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी दुहबी–११ की ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् ।
सामान्य अवस्थाका दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।