२०८१ फागुन १३, मङ्गलवार , ०९:३६:२१ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्ड समूह चरणको अन्तिम खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको हो ।

समूह ‘ए’बाट भारत पनि सेमिफाइनलमा पुगेको छ । अब समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबीच हुनेछ । बङ्गलादेश र पाकिस्तान अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छन् ।

हिजोको खेलमा बङ्गलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

न्युजिल्याण्डको जीतमा रचिन रविन्द्रले सर्वाधिक ११२ रन बनाए । बङ्गलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।

त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।

जीतसँगै न्युजिल्याण्ड दुई खेलमा अपराजित रहँदै समूह ‘ए’को शीर्ष स्थानमा छ । बङ्गलादेश दुई खेलमा अङ्कविहिन छ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

सम्बन्धित खबर