
काठमाडौं । साढे किलो चाँदीसहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् ।
काठमाडौं महानगरपालिका–२४ स्थित एक घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेको २४७ ग्राम ७२० मिलिग्राम सुन, ५ किलो ६०० ग्राम चादी र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।