
भद्रपुर । भद्रपुर नगरपालिकाको १५औं नगरसभा समापनको अवसरमा दुईजना सक्रिय पत्रकारसहित आधा दर्जन व्यक्तित्वलाई सम्मान गरिएको छ ।
आइतवार आयोजित कार्यक्रममा विकास पत्रकारिता पुरस्कार तथा सम्मानबाट ३१ हजार रुपैयाँसहित साझामञ्चकर्मी द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सन्तोष शर्मालाई १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त क्रिकेटका विपिनकुमार महतो, हक्कीका सुदिपकुमार चौधरी, दिपक खतिवडा, भारोत्ततलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दश हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
यस्तै नगरपालिका स्तरीय नकाउट फुटवल प्रतियोगितामा विजेता भद्रपुर नगरका खेलाडीलाई पुरस्कार रकमसहित प्रमाणपत्रले प्रदान गरियो ।
शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले आफ्ना धारणा राख्दै नगरको उन्नतिमा सवै क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका थिए ।
नगर सभामा चालू आर्थिक वर्षको अर्ध वार्षिक प्रगति कार्य योजनाहरूको समीक्षा र संशोधित बजेट तर्जुमा लगायतका बारेमा छलफल गरेर पारित गरिएको थियो ।
सभालाई समापन गर्दै नगरप्रमुख पोखरेलले नगरको चौतर्फी विकासका लागि नीतिगत व्यवस्था मार्फत कार्यविधि बनाएर काम गरिरहेको जानकारी दिए ।
नगरप्रमुख पोखरेलले भद्रपुरको सर्वाधिक महत्व बोकेको गणतन्त्र नेपालको प्रतीक गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण अलपत्र अन्त्य गराएर यथाशिघ्र कामको वातावरण निर्माणका लागि नगरसभाले प्रस्ताव अनुमोदन गर्दै संघीय सरकारसँग बाधा पुकुवाको माग पनि गरेको जानकारी दिए ।