
मेचीनगर । मेचीनगरका विभिन्न वडामा आलु खेती गरिरहेका कृषकहरूलाई आलु खेती प्रवर्द्धनका लागि नगरपालिकाले चासो देखाएको छ ।
आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा मेचीनगर–१५ का विभिन्न ठाउँमा कृषकहरुलाई भेटेर आलु खेती प्रवर्द्धनका लागि चासो देखाइएको हो ।
वडा नम्बर १५ का कृषकहरुले उत्पादनसँग जोड दिन आलु खेतीका लागि नगरपालिकासँग अनुदान माग गरेका थिए ।
माग गरेका १० वटा फर्म र व्यक्तिगत रुपमा किसानहरूले निवेदन दिएका थिए । त्यसमध्ये चारवटा फर्मको प्रस्तावलाई प्रक्रियाको तयारीका लागि नगरप्रमुख बुढाथोकीको टोलीले निरीक्षण तथा अनुगमन गरेको छ ।
निवेदन दिएका मध्ये चारवटा फर्मका कृषकले आलु खेती कसरी गरिरहेका छन् र त्यसको प्रवर्द्धनका लागि पनि स्थलगत निरीक्षण गरिएको उनको भनाई छ ।
मेचीनगर–१५ को कृष्ण र शिव भेटवालको न्यू भेटवाल कृषि फर्म, रामहरि नेपाल र लीला खनालको नेपाली बाबु कृषि स्मार्ट फर्म, रूहिदास राजवंशीको भांगासीतु कृषि फर्म र रमेश राईको चामलिङ कृषि फर्मको अनुगमन गरिएको हो ।
नगरप्रमुख बुढाथोकी नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान, आर्थिक विकास समिति सदस्य खेमकुमार सुब्बा लगायत थिए ।
स्थानीय कृषकले खेतमा नै आएका नगरप्रमुख बुढाथोकीको टोलीलाई आलुका विभिन्न विरुवा र विउँका विषयमा जानकारी गराएका थिए ।