२०८१ फागुन ११, आइतवार , १२:१८:२९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीको जन्मोत्सवका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा र वृक्षरोपण

आइतवार, फागुन ११, २०८१

बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा आज विहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय नागरिकहरुको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका २ धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको हो । सोही स्थानमा अखण्ड दीपसहित ७३ दीप प्रज्वलन गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य एवम् दिर्घ जीवनको कामना गर्दै अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्वलन गरिएको हो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं. २ लगायतको अगुवाईमा पूजा गरिएको हो ।

पूजामा नेकपा (एमाले)का केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं. २ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्त बहादुर पौडेलसहित स्थानीय नागरिकको सहभागी रहेको थियो । धाममा बटुकहरुले स्वस्थिवाचन गरेका थिए ।

अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा ७३ वटा बहुमूल्य जातका बिरुवाहरू रोपिएको छ । वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गर्नुभयो। कार्यक्रममा सहभागीहरुले रुद्राक्षको विरुवा रोप्दै वृक्षरोपणको शुभारम्भ गरेका थिए ।

सम्बन्धित खबर