२०८१ फागुन ९, शुक्रवार , १०:२६:१९ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकप : पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

शुक्रवार, फागुन ९, २०८१

भद्रपुर । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज शुक्रबार भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे ।

खेलको ७४औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा एक गोल थप्दै खेल २–० को अग्रता बनायो । भद्रपुरका आशिष चापागाईंलाई पुलिसका मानबहादुर परियारले पेनाल्टी एरियामा फाउल गरेपछि मिलन राईले अवसरको सदुपयोग गरे ।

दोस्रो हाफको अतिरिक्त समयमा पुलिसले एक गोल फर्कायो । भद्रपुरका किपर जियारत शेख चुकेपछि प्रशान्त कुँवरले गोल गरे ।

भद्रपुरले खेलमा केही अवसरहरू गुमायो । खेलको ४०औँ मिनेटमा पेनाल्टी एरियाबाट मिलन राईले प्रहार गरेको बल फर्स्ट बारमा लागेर फर्कियो ।

खेलको ४५औँ मिनेटमा पुलिसका गोलकिपर अमित टमाटा बिट भएपछि मिलन राईको प्रहार गोललाइनमा पुलिसका हेमन्त श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

खेलको अतिरिक्त समयमा विदेशी खेलाडी फोडे फोफोनाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पुलिसका किपर टमाटाले रोके ।

खेलको ५४औँ मिनेटमा पुलिसका अनुप लिम्बूको हेडर भद्रपुरका किपर शेखले पञ्च गरे । कृष्ण गुरूङको क्रस पासमा पेनाल्टी एरियाबाट लिम्बूले हेड गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मिलन राई भए । उनले नगद २१ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा भद्रपुरका सहायक प्रशिक्षक अर्जुन राईले पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि दोस्रो हाफमा रणनीति बनाएर पुलिसमाथि जित दर्ता गरेको बताए । घरेलु टिम र दर्शकका साथका कारण खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि डिफेन्समा चुक्दा हार बेहोर्नु परेको बताए । जित्ने योजनाका साथ मैदानमा उत्रिए पनि सानो गल्तीले चुकेको उनको भनाइ थियो ।

शनिबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ एफसी र चर्च ब्वाईच युनाइटेडबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए । मछिन्द्रलाई हराउँदै झापा क्वार्टर फाइनलमा प्रवेश गरेका हो ।