२०८२ असार १४, शनिवार , ०८:४१:१० बजे

Sajhamanch
'

शिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा दिने गरी तयारी तीव्र पारिएको छ । मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन शुरू भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवम् धुनी ताप्ने व्यवस्था शुरू गरिसकेका छन् ।

यस वर्ष भारतको प्रयागमा चलिरहको महाकुम्भ मेला दर्शन गरेर शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमानसमेत गरिएको कोषले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शिवरात्री भव्य रूपमा सम्पन्न गर्नेगरी व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रमा शिवरात्रिको पूर्वतयारी अवस्थाबारेमा बिहान अवलोकनपछि उनले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन तीव्रताका साथ काम भइरहेको जानकारी दिए।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले शिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ–संस्था र व्यक्तिको पनि सहयोग आवश्यक रहेकामा जोड दिए ।

मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरूपलगायतका ठाउँमा भइरहेको तयारीका कामको अवलोकन गरेका थिए।

शिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिअन्तर्गत ९ वटा विषयगत उपसमिति गठन गरेर शिवरात्रिको तयारी भइरहेको सदस्य सचिव डा. मिलनकुमार थापाले बताए।

शिवरात्रि सकिएपछि कोष र संस्थानले साधुसन्तलाई दक्षिणासहित बिदाइ गर्ने परम्परा छ । शिवरात्रीको दिन पशुपतिनाथमा मेला लाग्ने गर्छ । फागुन १४ गते शिवरात्री मनाइँदैछ ।

शुक्रवार, फागुन ९, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर