
मेचीनगर । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप मेचीनगरका चार हजार ८८६ जना किशोरीले लगाएका छन् ।
मेचीनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिएकी हुन् ।
उनका अनुसार वडा नं. १ मा १३३ जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना र ७ मा २०५ जना किशोरीले खोप लगाएको तथ्याङ्क छ ।
यसैगरी वडा नं. ८ मा ४१८ जनाले, ९ मा ३९६ जना, १० मा १ हजार ९ जना, ११ मा १०३ जना, १२ मा ४४३ जना, १३ मा ३२९ जना, १४ मा २२६ जना र १५ नम्बर वडामा १७७ जना किशोरीहरूले एचपीभी खोप लगाएको उनले बताइन् ।
खोप लगाएका मध्ये कक्षा ६ का १ हजार २७० जना, कक्षा ७ देखि १० कक्षा सम्मका ४ हजार ७५६ जना रहेका छन् ।
यस्तै विद्यालय नजाने १० वर्ष उमेर समूहका ७ जना र ११ देखि १४ वर्ष उमेर समूहका १३० जना किशोरीहरूलाई उक्त खोप दिइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् ।
खोप अभियान गत माघ २२ गतेदेखि २८ गतेसम्म विभिन्न विद्यालय र छुटेकाहरूलाई वडाको स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको थियो ।
सामुदायिक तथा नीजि विद्यालय र विद्यालय बाहिरका गरी चार हजार ७४७ जना छात्रालाई एचपीभी खोप लगाउने लक्ष्य राखिएको थियो । तर लक्ष्यभन्दा २ प्रतिशत बढी चार हजार ८८६ जनाले खोप लगाएको उनको भनाई छ ।
खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । जसका लागि १०० जना स्वास्थ्यकर्मी र १९४ जना स्वयम् सेवकसहित २९४ जना जनशक्ति परिचालन गरिएको थियो ।