
बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार हस्तान्तरण कार्यक्रम आज सम्पन्न गरेको छ ।
संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विधाका चार जनालाई पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २०८० सालमा प्रकाशित वर्षोत्कृष्ठ कृतिमध्ये उत्कृष्ठ कृति सिर्जना सन्दर्भका कृतिकार भारत कालेबुङ निवासी राजेन्द्र भण्डारी पुरस्कृत भए ।
यसैगरी, विष्णु चन्द्र पद्मा प्रतिभा पुरस्कारबाट बहुप्रतिभावान व्यक्तित्व बिर्तामोडका लीला उदासी, धनमाया वर्षोत्कृष्ठ पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र कलम–पर्शु पुरस्कारबाट दृष्टिविहिन खेम रेग्मीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
उनीहरुलाई प्रमुख अतिथि भण्डारी, अतिथिहरु खगेन्द्र प्रसाई, संस्थाका अध्यक्ष सहितले सम्मान पत्र, दोसल्ला र नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
वर्षोत्कृष्ठ कृति, विष्णु चन्द्र पद्मा सम्मान तथा धनमाया पत्रकारिता पुरस्कारको राशी जनही २५–२५ हजार रहेको छ । कमल–पर्शु पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताए ।
सम्मानित प्रतिभाहरुको सम्मान पत्र केशव आचार्य, गौतम शर्मा शिवाकोटी, जोस्ना श्रेष्ठ र खिलप्रसाद शिवाकोटीले वाचन गरेका थिए ।
पुरस्कृत प्रतिभाबारे संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले प्रकाश पारेको कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गरेका थिए । कार्यक्रमको सञ्चालन गौतम शर्मा शिवाकोटीले गरे ।