२०८१ फागुन ८, बिहिवार , १०:२०:४१ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

बुधवार, फागुन ७, २०८१

झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ३९औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याएका थिए ।

त्यस्तै, खेलको ४२औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै गोल गर्न सफल भए । दार्जिलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा उनले गोल गरेका थिए ।

खेलको ७२औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे ।

पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा आयोजक भद्रपुर माथि दबाब सिर्जना गरेको थियो । खेलको ५०औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गरे ।

खेलको ५५औं मिनेटमा नयन प्रधानले अर्को गोल थपे । आशिष देवानको क्रस पासमा पेनाल्टी एरियामा अनमार्क रहेका प्रधानले सुन्दर गोल गरे । खेलको ७०औँ मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

खेलको ३४औँ मिनेटमा आशिष चापागाईंको क्रस पासमा मिलन राईले गरेको पावरफुल प्रहार दार्जिलिङका गोलरक्षक सिंहले पञ्च गरेर बचाउ गरे । ५३औँ मिनेटमा आशिष चापागाईंले विपक्षी गोल रक्षकसँग वान भर्सेस वानको स्थितिमा गोल गर्ने सकेनन् ।

खेलको अधिकांश समय दार्जिलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा दबाब दिए पनि पहिलो खेलबाटै घर फर्कियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले २१ हजार रुपैयाँसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।

सौर्य एअर ओमसाई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको पहिलो खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा नतिजा आफ्नो पक्षमा पारेपछि टिमले दोस्रो हाफमा दबाबको सामना गर्नु परेको बताए । उनले वैकल्पिक खेलाडीले अन्तिम समयमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएको बताए ।

दार्जिलिङका प्रशिक्षक शिव तामाङले टिमले सुरूवातमै गोल खाएपछि दबाब झेलेको बताए । टिम सेट नभई गोल खानु विपक्षी टिमलाई नतिजा सुम्पिनु परेको उनको भनाइ छ ।

बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर