
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि सिङ्गापुर र चेक रिपब्लिक पठाइदिने भन्दै साढे ७३ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका–१० घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।
सरनले सिङ्गापुर पठाइदिने भन्दै १३ जनाबाट ७१ लाख १९ हजार र मिकेशले चेक रिपब्लिक पठाइदिने भन्दै एक जनाबाट २ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।