
काठमाडौं । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि काठमाण्डौ उपत्यकामा विद्यालय बसको निगरानी बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विद्यालयका बसमाथि निगरानी बढाउँदै विशेष जाँच अभियान थालेको हो ।
कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले अघिपछि पनि निगरानी भइरहेको तर काठमाडौंमा लगातार दुर्घटना भएपछि निगरानी थप बढाएको बताए।
उनका अनुसार चालकले जाँड–रक्सी खाएर विद्यालय बस चलाएको भेटिएको छ । उनले प्रहरीले मात्रै निगरानी गरेर नहुने हुँदा स्वयम् विद्यालय सञ्चालक तथा शिक्षकले पनि ध्यान दिनु जरुरी रहेको बताए। वनभोज खान जाँदा जाँड–रक्सी खाएको हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन नहाँले विद्यालय सञ्चालकलाई आग्रह गरे।
काठमाण्डौको दक्षिणकालीमा गएको माघ २७ गते जुनकिरी स्कूलको बस दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको थियो ।
यस्तै काठमाडौंको शङ्खरापुरमा माघ ३० गते वनभोजबाट फर्कँदै गरेको सत्यसाई स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको थियो । ती दुर्घटनामा ५० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका छन् ।
यी दुर्घटनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कूल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ ।