
भद्रपुर । झापाको भद्रपुरस्थित मेची रंगशालामा हुन लागेको ‘भद्रपुर झापा गोल्डकप’ को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
मेची रंगशाला परिसरमा आज पत्रकार सम्मेलनमा आयोजक भद्रपुर झापा गोल्डपकका अध्यक्ष दिपेश ढकालले ‘सौर्य एअरलाइन्स ओमसाई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको उनले बताए ।
“दोस्रो भद्रपुर झापा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, अध्यक्ष ढकालले भने, “गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइएको छ ।” प्रतियागिताको तयारी स्वरुप स्वागत गेटहरुसमेत निर्माण गरिएको छ।
फागुन ७ गतेदेखि १६ गतेसम्म हुन लागेको दोस्रो संस्करणमा भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुने गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जनकारी दिनुभयो ।
गोल्डकपमा तीन विदेशी टिम दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० टिम सहभागी हुने उहाँले बताउनुभयो । स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य अन्तिम चरणमा पुगेको भने त्यस्तै, बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
गोल्डकपको विजेताले १३ लाख रुपैयाँ र उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् भने गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने आयोजक समितिका उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत)ले बताए ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले एक लाख पाँच हजार रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने तय भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।