
काठमाडौं । डिजिटल प्रविधिको बढ्दो विकाससँगै यसका जोखिम पनि उत्तिकै बढेका छन् । बालबालिकादेखि वयस्कसम्म आफ्नो धेरैजसो समय मोबाइल, कम्प्युटर वा कुनै पनि ग्याजेट चलाउने भएपछि यसको प्रयोगसँगै दुरुपयोग पनि बढेको छ ।
प्रविधि र इन्टरनेटको अत्यधिक प्रयोगले विशेषगरी बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यलाई असर पारिरहेको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो समय बालबालिकाको संलग्नतामा साइबर अपराधका घटना पनि बढेका छन् ।
घटना कम गर्न विद्यालयस्तरमा डिजिटल प्रविधि र इन्टरनेटको सुरक्षित प्रयोग कसरी गर्ने, दुरुपयोगलाई कसरी निरुत्साहित गर्ने लगायतका साइबर शिक्षा दिन आवश्यक रहेको साइबर सुरक्षा विज्ञ तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सह–प्राध्यापक डा. राजीव सुब्बाले बताए।
उज्यालोसँगको कुराकानीमा उहाँले सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोर–किशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको स्पष्ट पारे।
डिजिटल साक्षरताको कमीले साइबर अपराधसँगै इन्टरनेट कुलतको जोखिम पनि बढाएको साइबर सुरक्षा विज्ञ सुब्बाको भनाइ छ । उनका अनुसार इन्टरनेट कुलतको जोखिम विद्यार्थीमा मात्र नभएर अभिभावक वा पाको उमेरका मानिसमा पनि हुन्छ । त्यसैले बालबालिकालाई यस्तो कुलतबाट जोगाउन सर्वप्रथम अभिभावक नै यसबाट मुक्त हुनु जरुरी छ ।
अभिभावकले इन्टरनेटका जोखिम तथा साइबर अपराधबारे बालबालिकालाई बेलाबेलामा बुझाइ राख्न आवश्यक रहेको सुब्बा बताउँनुहुन्छ । उनले कुलतको अवस्था आउन नदिन बच्चालाई नचलाऊ भन्नुअघि अभिभावकले आफूलाई पनि मोबाइलको प्रयोगबाट जोगाउने, बालबालिकाले मोबाइल, ल्यापटप लगायतका ग्याजेट चलाउँदा कस्ता वेबसाइटहरू चलाइरहेका छन् त्यसको निगरानी गर्ने र राति सुत्ने बेला अनिवार्य रूपमा यस्ता सामाग्रीहरू नहेर्ने र आफूबाट त्यस्ता सामग्री अलि टाढा राख्ने, मोबाइलमा स्क्रिन समय सेट गर्न मिल्ने भएकाले कति बेला, कति समय, मोबाइलमा के चलाउने दिने भनेर निर्क्योल गर्ने र त्योभन्दा बढी चलाउँदै नचलाउने जस्ता सुरक्षाका सावधानी अपनाउन सुझाव दिएका छन् ।