२०८१ फागुन ८, बिहिवार , ०५:२२:५१ बजे

Sajhamanch
'

बैंकहरूको कर्जा प्रवाह बढ्न थाल्यो

सोमवार, फागुन ५, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूको निक्षेप अर्थात् बैंकमा जम्मा हुने रकमको तुलनामा कर्जा बढेको हो । २० वटा वाणिज्य बैंकको सात महिनाको निक्षेप ४ दशमलव २१ प्रतिशत बढ्दा कर्जा लगानी ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।

पछिल्लो सात महिनामा कर्जा लगानी ४८ खर्ब २७ अर्ब र निक्षेप सङ्कलन ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकहरूले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४५ खर्ब ७० अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो सात महिनामा निक्षेपभन्दा धेरैले कर्जा विस्तार गर्नेमा सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

ग्लोबल आईएमई बैंकको कर्जा लगानी ४ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ४ खर्ब ३१ अर्ब र निक्षेप ५ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ५ खर्ब २९ अर्ब पुगेको छ ।

एभरेष्ट बैंकको कर्जा लगानी २ खर्ब ११ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब र निक्षेप २ खर्ब ५७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ६१ अर्ब पुगेको छ ।

यसैगरी सिटिजन्स बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब र निक्षेप ९ अर्ब रुपैयाँले बढेर २ खर्ब पुगेको छ ।

हिमालयन बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर २ खर्ब ५० अर्ब र निक्षेप ३ अर्ब रुपैयाँले बढेर ३ खर्ब पुगेको छ ।

लक्ष्मी सनराइज बैंकको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेर २ खर्ब ८१ अर्ब र निक्षेप १३ अर्ब रुपैयाँले बढेर ३ खर्ब ४७ अर्ब पुगेको छ ।

माछापुच्छ्रे बैंकको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेर एक खर्ब ४३ अर्ब र निक्षेप ७ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ ।

सिद्धार्थ बैंकको कर्जा लगानी १३ अर्ब रुपैयाँले बढेर २ खर्ब १६ अर्ब र निक्षेप एक अर्ब रुपैयाँले घटेर २ खर्ब ४३ अर्बमा सीमित भएको छ ।

नबिल बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

एनआईसी एशिया बैंकको कर्जा ३२ अर्ब रुपैयाँले घटेर २ खर्ब ५२ अर्ब र निक्षेप ५८ अर्ब रुपैयाँले घटेर ३ खर्ब दुई अर्बमा सीमित भएको छ ।

कुमारी बैंकले ३ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी र ३ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

सम्बन्धित खबर