२०८१ फागुन ८, बिहिवार , ०७:१२:४२ बजे

Sajhamanch
'

काठमाडौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

सोमवार, फागुन ५, २०८१

काठमाडौं । आज पनि काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । एक हप्तादेखि लगातार वायु प्रदूषण उच्च रहेकोमा आज पनि कायमै रहेको हो ।

वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा रहेको छ । पोखरामा रहेको मापन केन्द्रले दिउँसो वायु प्रदूषण मापन सूचक (एक्यूआई) ४५० सम्म देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दा माथि हुनु भनेको घातक अवस्था हो ।

यस्तै संसारका मुख्य शहरहरूको वायु प्रदूषणबारे तथ्याङ्क सार्वजनिक गर्दै आएको आईक्यूएअरका अनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा रहेको छ ।

काठमाडौंको एक्यूआई २०० भन्दा माथि छ । काठमाडौंभन्दा बढी प्रदूषित शहरहरूमा पाकिस्तानको लाहोर र भारतको नयाँ दिल्ली रहेका छन् । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेको कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

विभिन्न ठाउँमा भइरहेको डढेलो र किसानहरूले खेतबारीमा बालेको आगोले पनि वायु प्रदूषण बढाइरहेको छ । मौसमविद्हरूले पानी नपरुञ्जेल प्रदूषण घट्ने सम्भावना पनि कम रहेको तर तत्काल काठमाडौंलगायत शहरमा पानी पर्ने सम्भावना नरहेको बताएका छन् ।

नेपालमा वर्षभरि नै वायु प्रदूषण भइरहनेमा चिसोयाम अर्थात् पुस,माघ र अत्यधिक सुक्खा अर्थात् चैत वैशाखमा वायु प्रदूषण बढ्ने गरेको छ ।

सम्बन्धित खबर