२०८१ फागुन ८, बिहिवार , ०३:४४:४३ बजे

Sajhamanch
'

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

सोमवार, फागुन ५, २०८१

काठमाडौं । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि हिजो प्राप्त गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठन नेपाल कार्यालयले बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालमा रहेको कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’ सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो ।

सरकारले गएको मङ्सिर १ गतेदेखि लागू हुनेगरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा गरेको छ ।

जसमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकाले निःशुल्क पाउने मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए।

डब्ल्यूएचओका अनुसार नेपालमा हरेक वर्ष करिब ९०० नयाँ बालबालिकामा क्यान्सर देखापर्ने गरेको छ । औषधि अभाव र विभिन्न चुनौतीका कारण एक तिहाइ बालबालिकाले मात्र उचित उपचार पाउने गरेका छन् ।

सम्बन्धित खबर