
काठमाडौं । अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक एयरको उडानमार्फत उनी काठमाडौंबाट मलेसिया जान लागेकी थिइन् ।
अन्तर्राष्ट्रिय उडानको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विभिन्न देशका अवैध मुद्राहरु फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
उनीबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रकम, १०० मलेसियन रिंगेट बरादम भएको छ । त्यसैगरी विभिन्न कम्पनीका १९ थान मोबाइल, २८ थान सीमकार्ड र १२२ थान मेमोरी कार्ड बरामद भएको छ ।
पक्राउ परेका उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।