२०८१ फागुन ३, शनिवार , ०७:५३:४० बजे

Sajhamanch
'

‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन

शनिवार, फागुन ३, २०८१

बिराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोहको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ ।

समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको हाते पुस्तक विमोचन पनि गरियो । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्तरूपमा ‘कोशी प्रदेश सरकारको सात वर्ष’ नामक पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट जनताको विकासको आकाङ्क्षा पूरा गर्न यो व्यवस्था सफल हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारबाट उल्लेखनीय प्रगति भइरहेको विश्वास व्यक्त गर्दै जनताको विकासको आकाङ्क्षा पूरा गर्न, जनताको हित, सामाजिक न्याय, नागरिक स्वतन्त्रता र सेवा प्रवाहको क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सात वर्षसम्म प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेकोमा अब मानवीय र सामाजिक क्षेत्रको विकासलाई पनि सँगसँगै अगाडि बढाउने बताए ।

‘‘हामीले अहिलेसम्म बाटो, पूल झोलुङ्गे पूलहरू मात्र बनाइरहेका छौं । अब मानवीय र सामाजिक काममा अब ध्यान दिनेछौं र यी कामहरूलाई पनि सँगसँगै अगाडि बढाउने छौं’’ मुख्यमन्त्री कार्कीले भने ।

उनले स्थानीय तहसँगको सहकार्यलाई बढाउने, उनीहरूलाई दिनुपर्ने अधिकार र सहयोगहरू दिने र आपसी समन्वयलाई बढाएर लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

सरकारले गरेका कामहरूको सकारात्मक र आलोचनात्मक टिप्पणी सरकारका लागि महत्त्वपूर्ण रहेको भन्दै सरकारबाट भएका कमजोरी औंल्याइदिन उनले विशेष आग्रह गरे ।

प्रदेश सरकारले सीमित जनशक्तिबाट प्रदेशमा सेवा प्रवाह गरिरहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘‘हामीले ५० प्रतिशत जनशक्तिको माध्यमबाट यी कामहरू गरिरहेका छौं, अब आगामी वर्षभित्रमा ७० प्रतिशत जनशक्ति पुर्याएर प्रदेशको कामलाई प्रभावकारी बनाउने लक्ष्य लिएका छौं ।’’

प्रदेश सरकारले राजस्व सङ्कलन गर्न र त्यसको दायरा विस्तार गरी प्रदेशको आय बढाउन आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

उनले आन्तरिक राजस्व कार्यालय स्थापना गर्ने प्रहल नयाँ भएको र कोशी प्रदेशले त्यसका माध्यमबाट चालु वर्षमै लक्षित आय प्राप्त गर्ने दाबी पनि गरे । ‘‘यो नयाँ पहल र उचाइ हो । यसका माध्यमबाट आन्तरिक राजस्वको लक्ष्य प्राप्त गर्नेछौं’’ मुख्यमन्त्री कार्कीले भने , ‘‘राजस्व नबढाउँदासम्म विकासको लक्ष्य पूरा गर्न नसक्ने भएकाले करको दर होइन दायरा बढाएर बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने आधार तयार पार्न सरकार क्रियाशील छ ।’’

मुख्यमन्त्री कार्कीले प्रदेश योजना आयोगलाई अर्थमन्त्रालयभित्र सङ्कुचनमा राखिएको भन्दै अब त्यसलाई पूर्णरूपमा काम गर्न सकिने गरी अगाडि बढाउने पनि बताए । प्रदेश योजना आयोगले योजना बैँकको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको र धेरै कामहरू भइरहेको भन्दै त्यसलाई स्वतन्त्ररूपमा अझ प्रभावकारी बनाउने सरकारको योजना रहेको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको कामलाई मुख्य प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशनसमेत दिए ।

सम्बन्धित खबर