२०८१ फागुन ३, शनिवार , ०७:५१:३९ बजे

Sajhamanch
'

शिवसताक्षीको पाराबारीमा तामाङ्ग समुदायले मनाए डुल ल्हो ल्होछार

शनिवार, फागुन ३, २०८१

शिवसताक्षी । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी ३ को आयोजनामा शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीमा सोनाम डुल ल्हो ल्होछार २८६१ पर्व धुमधामका साथ विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

पाराबारी बजारमा भएको डुल ल्हो ल्होछार कार्यक्रमको नेपाल तामाङ घेदुङ संघका कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा डुल ल्हो ल्होछार पर्व मनाउन सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी वडा नं. ३ ले जनाएको छ ।

कार्यक्रमका लागि वैदेशिक रोजगारीमा गएका दाजुभाइहरुले विशेष सहयोग गरेको र तिनका परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो । अन्य सहयोगी दाताहरुलाई पनि सम्मान गरिएको कार्यक्रम संयोजक लासाङ्ग दोर्जे तामाङले जानकारी दिए ।

उनका अनुसार १३ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा युके, जापान, अष्ट्रेलिया, कोरिया, कुवेत लगायतका देशहरुमा वैदेशिक रोजगारीमा गएका दाजुभाइहरुले आर्थिक सहयोग गरेका थिए ।

विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै गायिका रेश्मा बम्जम र स्थानीय कलाकार सानाहाङ्ग लिम्बूले आफ्नो गायन प्रस्तुति गरेका थिए । गायिका बम्जमले दर्जनौं तामाङ्ग सेलो गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकलाई छमछमी नचाएकी थिइन् । स्थानीय विज्ञान एकाडेमीका विद्यार्थीहरुले तामाङ्ग सेलो गीतहरुमा तीन वटा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रेखबहादुर तामाङलगायत अधिकांश वक्ताहरुले आफ्नो धर्म संस्कृति र पहिचान कसैले पनि भुल्न नहुने र आफ्नो संस्कृति भावी सन्ततीलाई अनिवार्य सिकाउनु पर्ने धारणा राखेका थिए ।

संस्कृति खोज्न अघिल्लो पुस्ता गुहार्नु पर्ने बाध्यता आइसकेको छ । पछिल्लो पुस्ता पश्चिमी संस्कृतितिर ढल्केकाले उनीहरुलाई रोक्नु पर्ने सबैको भनाई थियो ।

नेपाल तामाङ घेदुङ संघ वडा नं. ३ का अध्यक्ष योगेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित एवम् सहभागीहरुलाई कार्यक्रम संयोजक लासाङ दोर्जे तामाङले शाब्दिक स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शान्ति पाख्रिनले गरेकी थिइन् ।