![](https://sajhamanch.com/wp-content/uploads/2025/02/CHARALI-BAN-SAMRAKSHAN-SURU.jpg)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ ।
जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतको उपस्थितिमा वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो ।
वनक्षेत्रमा निर्माण गरिएका संरचना हटाउन वन कार्यालयले पटक पटक अनुरोध गर्दासमेत उनीहरू अटेर गरेर बसेका थिए ।
पछिल्लो समय ३५ दिने सूचना प्रकाशन गरेर हट्न भने पनि प्रगति नमूना सामुदायिक वनको भूगोलमा बसोबास गर्दै आएकाहरुले अटेर गरेका थिए ।
सुरक्षा बलको सहयोगमा अहिलेदेखि उनीहरूलाई हटाउन थालिएको डिभिजन वन कार्यालय झापाका प्रमुख राईले जानकारी दिएका छन् ।
यसैबीच, वन क्षेत्र अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा भएको विवादमा एक जना महिला पक्राउ परेकी छन् ।
प्रगति सामुदायिक बनको क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजारका १८ वटा पसल सुरक्षा बल प्रयोग गरी आज हटाइएको हो ।
अतिक्रमण हटाउने पक्षमा रहेका प्रगति सामुदायिक वनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा ती महिला पक्राउ परेकी हुन् ।
वनका अध्यक्ष निरौलालाई दूर्व्यवहार गरेर भागेकी ती महिलालाई महिला प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
लगत्तै ती महिलालाई प्रहरीको भ्यानमा चढाएर चारआलीबाट अन्यत्र लगिएको छ । पक्राउ परेकी महिलाको नाम खुलेको छैन ।
प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ परेकी महिलाको पसल आज अतिक्रमण हटाइएको क्षेत्रमै रहेको थियो ।