२०८१ फागुन ७, बुधवार , ०३:२०:३७ बजे

Sajhamanch
'

धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रमा मापदण्ड बनाएर मात्र विकास निर्माण गरिनुपर्नेमा विज्ञहरु एकमत

शनिवार, फागुन ३, २०८१

झापा । झापाका धार्मिक पर्यटकीय स्थलहरुमा मापदण्ड बनाएर विकास गर्न सरोकारवालाहरु एकमत भएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रद्वारा शुक्रबार आयोजित अन्तरक्रियात्मक गोष्ठीमा सरोकारवालाहरु मापदण्ड बनाएर धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न सहमत देखिएका हुन् ।

ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक पर्यटकीय स्थलहरुमा जे जति विकास निर्माण गरिन्छ, त्यसमा अत्यन्त सावधानी अपनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । पुरातात्विक वस्तुहरुलाई पुनर्निर्माण गर्दा वास्तविकता र मौलिकता मर्न नहुने उनीहरुको भनाई थियो ।

इन्जिनियर्स एशोसिएसनले विज्ञहरुसंग प्यानल डिस्कशन गरेको थियो । अन्तरक्रियात्मक गोष्ठीमा धर्म र धार्मिक आस्थाका बारेमा साधुटार शंकराचार्यपीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, पर्यटनका बारेमा टेक ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राई, निर्माणका विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख इ. काजीराम कार्की र निर्माण नीतिका विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग प्यानल डिस्कशन गरिएको हो ।

प्यानल डिस्कशनको सहजीकरण कार्यक्रम संयोजक इ. प्रकाशकुमार सिंहले गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन एशोसिएसनका निमित्त सचिव इ. अजित ढुङ्गानाले गरेका थिए ।

एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इ. रोशन सुवेदीले शाब्दिक स्वागतसहित अन्तरक्रिया आयोजना गर्नुको औचित्य प्रष्ट्याएका थिए ।

कार्यक्रममा झापाका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका विज्ञसहित सरोकारवालाहरुको उपस्थिति थियो ।