![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Raju_cheetri_rhmHw0IKON.jpg)
काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राजु क्षेत्रीले विश्व वरीयतामा रहेको जी–टूको प्रतियोगिता यूएस ओपन तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाउने भएका छन् ।
आज फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने प्रतियोगितामा ५० देशका झन्डै २४०० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय निर्णायक क्षेत्रीले यूएस ओपनमा निर्णायकको भूमिका निभाउन लागेको यो लगातार तेस्रोपल्ट हो ।
विश्व तेक्वान्दोले युएस तेक्वान्दो र यूएस ओलम्पिकको संयोजनमा आयोजना गर्ने प्रतियोगिता विश्वको ठूलो प्रतियोगितामध्ये एक हो । क्षेत्रीले यसअघि सन् २०२३ मा लस भेगास र गएको वर्ष रेनोमै भएको यूएस ओपन च्याम्पियनशिपमा निर्णायकको भूमिका निभाएका थिए ।
त्यस्तै दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए ।
क्षेत्रीले सन् २००८ मा भएको विश्व वरीयताको जी–टू कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको रूपमा स्वर्ण जितेका थिए । खेलकुद क्षेत्रमा पुर्याएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।