२०८१ फागुन २, शुक्रवार , ११:११:४७ बजे

Sajhamanch
'

झापाका आपराधिक गतिविधि हुने स्थानमा ‘डग स्निफिङ’

शुक्रवार, फागुन २, २०८१

झापा । आपराधिक घटना बढी हुने झापाका बिभिन्न स्थानमा ‘डग स्निफिङ’ परिचालन गरिएको छ । बढी अपराध हुने तथा संवेदनशील स्थानको खोजी र पहिचानका लागि झापाका बिभिन्न स्थानमा शिकारु कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आपराधिक गतिविधिहरु हुने दमक, बिर्तामोड र मेचीनगरको सात ठाउँमा खोजी र पहिचानका लागि कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानको कुकुरसहितको टोलीले झापाका बढी अपराध हुन सक्ने आँकलन गरिएका स्थानहरुमा डग स्निफिङ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

दमक–५ को गोर्खा डिपार्टमेन्ट क्षेत्र, ६ को बसपार्क, ७ को एरियाहरु हुँदै बिर्तामोड –४ को पश्चिम बस स्टेन्ड, ६ को गिरीबन्धु टि–इस्टेटको क्षेत्र, मेचीनगर –६ को बसपार्क र मेची पुलको एरियामा डग स्निफिङ गरिएको प्रहरीले जनाएको छ ।

आपराधिक गतिविधिहरु, लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग पुग्ने उद्धेश्यले डग स्निफिङ गरिएको जनाइएको छ । विष्फोटक पदार्थ खोजी गर्ने रेन्जर र लागूऔषध खोजी गर्ने पिंकु नाम गरेका दुईवटा कुकुर परिचालन गरिएको थियो ।

सम्बन्धित खबर