२०८१ फागुन २, शुक्रवार , १०:५७:४० बजे

Sajhamanch
'

इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

सुरक्षित इन्टरनेट दिवसका अवसरमा हिजो काठमाडौंमा भएको कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताइन।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा ६३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए । जसमा २५३ बालक थिए भने ३८२ बालिका थिए । त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार ७४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्याङ्क छ ।

नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले ५१४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका (५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक) मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन् ।

शुक्रवार, फागुन २, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर