२०८१ माघ २८, सोमवार , ०८:५६:५० बजे

Sajhamanch
'

बिर्तामोडका इन्जिनियरहरु धार्मिक, पर्यटकीय एवम् पुरातात्विक क्षेत्रको निर्माणको महत्व केलाउँदै

सोमवार, माघ २८, २०८१

बिर्तामोड । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आगामी फागुन २ गते बिर्तामोडमा फरक किसिमको एउटा गोष्ठी आयोजना गर्ने भएको छ ।

धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलमा बनाइने भौतिक संरचना कस्तो हुनुपर्छ, हाल कस्तो भइरहेका छन् जस्ता विषयमा विज्ञ वक्ताहरुको सुझाव संकलन गरी निर्माण नीति बनाउन एक दिने गोष्ठी आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उद्देश्यले निर्माण गरिने भौतिक संरचना’ का विषयमा गोष्ठी आयोजना गर्न लागेको कार्यक्रम संयोजक इन्जिनियर प्रकाशकुमार सिंहले जानकारी दिए ।

गोष्ठीमा चार फरक क्षेत्रका विज्ञहरुबाट विषयगत मन्तब्य व्यक्त हुने जनाइएको छ । उक्त गोष्ठीबाट प्राप्त सुझावहरु निर्माण नीतिमा संग्रह गरी प्रारम्भिक चरणमा झापाका पालिकाहरुमा कार्यान्वयनमा लगिने इन्जिनियर रोशन सुवेदीले बताए ।

गोष्ठीमा धार्मिक आस्थाका क्षेत्रहरुको निर्माण कस्तो हुनपर्छ भन्ने बारेमा साधुटार शंकराचार्य पीठका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडाले धारणा ब्यक्त गर्नेछन् । यसरी नै पर्यटनका बारेमा टे«क ८५८६ पर्यटन ब्यवसायी तथा गाइड अमिर राई, निर्माणका विषयमा इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस प्रमुख इ. काजिराम कार्की र निर्माण नीतिका विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले धारणा राख्ने कार्यक्रम बनाइएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एशोसिएसनका सभापति इ. इन्द्रमणि घिमिरेको अध्यक्षता तथा सचिव इ. अजित ढुंगानाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको उत्तर इ. सुवेदी र इ. सिंहले दिएका थिए ।

गोष्ठीमा झापाका १५ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रमुख तथा प्रतिनिधि, निर्माण क्षेत्रका प्रतिनिधि, निर्माण क्षेत्रका विज्ञसहित सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको जनाइएको छ ।

पत्रकार सम्मेलनको थप विवरण प्रस्तुत भिडियो लिङ्कमा हेर्न सकिने छः

https://fb.watch/xFQ5jU8GEw/

 

सम्बन्धित खबर