![](https://sajhamanch.com/wp-content/uploads/2025/02/prakashman-singh.gif)
काठमाडौं । उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् ।
निर्वाचनका बेला आ–आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ सबैको जनप्रतिनिधि हुने बताउँदै उनले विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्ने उनको भनाइ छ ।
‘विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्छ । के कांग्रेस, के एमाले, सबै समुदाय मिलेर जनताका समस्या समाधानमा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्छ,’ उनले भने । अहिले त्यही राजनीतिक संस्कार विकास गर्ने प्रयास गरिरहेको उनले बताए ।
अहिलेको सरकार जनताको विकासको आकांक्षा सम्बोधन गर्न र राजनीतिक स्थायित्व प्रदान गर्न बनेको जिकिर गर्दै उनले हरेक नेपालीका समस्या समाधान गर्न प्रयत्नशील रहेको बताए । ‘राजनीतिक स्थायित्व दिन यो सरकार बनेको हो । राजनीतिक स्थीरता विना विकास सम्भव नहुने हाम्रो अनुभवले बताइसकेकाले हरेक नेपालीकाको जीवन र जिविकाका सवाल सम्बोधन गर्न सरकारले काम गरिरहेको छ,’ उनले भने ।
अधिकारका कुरा गर्नेहरुलाई त्यससँगै आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई नभुल्न उनले आह्वान गरे । ‘अधिकारका कुरा त हामी गर्छौं, सँगसँगै निर्वाह गर्नुपर्ने दायित्व पनि त हामीले बिर्सनु भएन,’ उनले भने, ‘हामीले धेरै लामो संघर्ष गरेर संघीय गणतन्त्रात्मक संविधान पाएका छौं । त्यसैलाई संरक्षण र कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ ।’