![](https://sajhamanch.com/wp-content/uploads/2025/02/chitawan_gagan.jpg)
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आमनिर्वाचनअघि नै हुने बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन्।
‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुंग्याउने गरी काम गरेका छौँ। तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्यो’, उनले भने। विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनको भनाइ छ।
थापाले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मंसिररपुसमा चार वर्षको कार्यकाल सकिन्छ। हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन। एक वर्षका लागि म्याद थपको सुविधाबारे सभापतिसँग सल्लाह भइरहेको उनले बताए।
‘जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ’, थापाले भने। थापाले सरकारले ल्याएको अध्यादेश एक-दुई दिनमा संसद्मा टेबल हुने बताए। सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे। उनले भने, ‘विधेयकमा धेरै समस्या रहेको छ। विधेयक नसच्याई, परिमार्जन नभई र संशोधन बिना पारित हुँदैन।’