![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Aaraniko-Samman.jpg)
भद्रपुर । अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरूषोत्तम खरेलले माघ २६ गतेको जन्मदिनलाई विशेष दिन मानेर आइतबार आफ्नो विद्यालयका उत्कृष्ट विद्यार्थी सम्मान गरेका छन् ।
प्रअ खरेलले आफैँले स्थापना गरेको लक्ष्मी–ललिता खरेल अक्षय कोष मार्फत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख राधा कार्की र प्रअ खरेलकी आमाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
सो छात्रवृत्ति अन्तरगत कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने छात्रा प्रतिभा सुबेदी, कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने तुलसा बडाल र छात्र अनन्त गुरुङलाई जनही ३ हजार ५५० रुपैयाँको दरले रकम प्रदान गरियो ।
आमासँगै आफू कार्यरत विद्यालयमा दिनभर समय बिताउन पाउँदा बाल्यकालीन सम्झना आएको सुनाउँदै प्रअ खरेलले आमाले विद्यालय पठाउँदाका क्षणहरू अनि आफ्नो शैक्षिक प्रगति र उन्नतिमा बुबा–आमाको त्याग र योगदानलाई वर्तमानमा अनुभूत हुने अवसर प्राप्त गरेको सुखद क्षणहरू आफैँमा एउटा संयोग बनेको बताए ।
सोही कार्यक्रममा अर्का अक्षयकोष दाता हंसबहादुर–लच्छीमाया इदिङगो अक्षय कोषबाट कक्षा १ देखि ५ सम्मको समूहबाट उत्कृष्ट जिपिए ल्याउने छात्रा जून खरेलललाई ३ हजार ५५० रुपैयाँ प्रदान गरी सम्मानित गरियो ।
त्यसैगरी, ६–७ कक्षा समूहबाट हिना राई र गतवर्षको एसईईमा उत्कृष्ट जिपिए ल्याउने सम्प्रदा राईलाई पनि ३ हजार ५५० रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
यसैबीच गतवर्ष भद्रपुर नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगर प्रथम हुने कक्षा ९ का विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिएको छ ।