२०८२ माघ २५ आइतवार , ०५:५१:२८ बजे

Sajhamanch
'

तुलसीपुर विमानस्थल ठूलो बनाउन विज्ञसँग कुरा गर्छु : देउवा

आइतवार, माघ २७, २०८१

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङको तुलसीपुर विमानस्थल ठूलो र राम्रो बनाउन पहल गर्ने बताएका छन्।

सभापति देउवाले विज्ञसँग कुराकानी गरेर यदि विमानस्थल विस्तार गर्न सकिने रहेछ भने स्तरउन्नतिका लागि पहल गर्ने बताएका हुन्।

‘हाम्रो देशमा पहाडी भेग पनि धेरै भएको हुँदा छिटो यात्राका लागि हवाई यात्रा महत्त्वपूर्ण छ,’ दाङको दंगीशरण गाउँपालिका ३ चखौरामा अन्तर प्रदेशस्तरिय थारू साँस्कृतिक सम्मेलन तथा महोत्सव, मटावाँ, बडघर, भलमन्साहरूको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै देउवाले भने, ‘अब म सिधै बिषेशज्ञसँग कुरा गरेर यदि विस्तार हुन सक्ने रहेछ भने तुलसीपुरको विमानस्थललाई ठूलो र राम्रो बनाउन पहल गर्छु।’

सभापति देउवाले यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भइसकेको हुँदा शासन थारूको हातमा आएको पनि बताए।

‘फेरि पनि उहाँ मुख्यमन्त्री हुनुहोला वा अरू पनि हुनुहोला। थारूहरूको हातमा साशन सत्तासमेत आइसकेको हुँदा आफ्नो ठाउँलाई आफै बनाउन सक्ने क्षमता पनि राख्न जरूरी छ,’ सभापति देउवाले भने।

थारू जाति मौलिक कला संस्कृतिमा धनी रहेको भन्दै आफ्नो संस्कृति बचाउनका लागि अझैं अगाडि बढ्न जरूरी रहेको पनि देउवाले बताए।

मटावाँ, बडघर, भलमन्सा महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल विस्तार नुहँदा हवाई सेवा अवरुद्ध हुन पुगेको बताएका थिए।

चौधरीले संघीयतालाई बलियो बनाउनका लागि प्रदेशहरूलाई अधिकार दिनुपर्ने बताए।

सम्बन्धित खबर