बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्तिलाई ५–० गोलअन्तरको एकतर्फी जित निकालेको हो ।
एकोहोरो दबाब सिर्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अस्रिना आङबुहाङको नाममा रह्यो ।
बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । यसैगरी १७ र १९औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् ।
यसैगरी, अस्रिनाले खेलको १५औँ मिनेटमा गोल गरेकी थिइन् । बिर्तामोडका लागि लीला जोशी, हिमा रावत, रोशनी बोहोरा क्षेत्री र सुनकला राईजस्ता अनुभवी खेलाडी थिए ।
सुनकलाले प्लेयर अफ द म्याच बन्दै नगद ५ हजार पुरस्कार पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।
भोलि आइतबार अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच खेल हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले ३ लाख रुपैयाँसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।