२०८१ माघ २५, शुक्रवार , ०९:५०:२८ बजे

Sajhamanch
'

शिवसताक्षी लोकप्रिय बन्यो ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम

शुक्रवार, माघ २५, २०८१

शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग नगरप्रमुखको प्रत्यक्ष संवाद, समस्या समाधानमा प्रतिवद्वता

  • सरोजकुमार भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा ज्येष्ठ नागरिकहरुले खुसी पनि व्यक्त गरेका छन् ।

शिवसताक्षीको दूधेमा बिहीबार भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका हुन् । दूधेस्थित ज्येष्ठ नागरिक भवनमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले ‘हाम्रो पनि स्थानीय सरकार रहेछ, हाम्रा कुरा सुन्नकै लागि कार्यक्रमको आयोजना गरिएको रहेछ, यसका लागि नगरप्रमुखलाई धन्यवाद दिन्छौं’ भनेका छन् ।

ज्येष्ठ नागरिकहरुलो नगरप्रमुखसँग आफ्ना कुरा राख्दै हामी बृद्ध बृद्धाहरुलाई कुनै पनि सरकारी निकायमा जाँदा मान्छे नै गन्दैनन् । गाडीमा यात्रा गर्दा त्यतिकै समस्या छ । सरकारले सवारी साधनमा यात्रा गर्दा ५० प्रतिशत छुट दिएको घोषणा गरे पनि कन्डक्टरले दिँदैनन्, उल्टै हप्काउँछन् । बृद्ध भत्ता आउँछ त बुढा पैसो तिर्नु पर्दैन भन्ने गरेको कार्यक्रममा सहभागीहरुले नगरप्रमुखसँग गुनासो गरे ।

उपचारका लागि सरकारले दिएको वीमा सहुलियतको रेफर सुरुङ्गाबाट लिनुपर्ने बाध्यता किन रह्यो । ज्येष्ठ नागरिकहरुले आफ्ना छोराछोरी नाति नातिनाहरु लागु औषध दुव्र्यसनीमा फस्दा आफूहरु असुक्षित हुने भन्दै नगरप्रमुखलाई त्यस्तो गतिविधी रोक्न कडा कदम चाल्न सुझाब दिए । नगरपालिकाले वर्षेनी ज्येष्ठ नागरिकका लागि छुट्याइको बजेटबाट तिर्थाटन गर्दा व्यवस्थापन राम्रो नभएको, सबै वडाहरुमा ज्येष्ठ नागरिक चौतारी तथा भवन नभएको समेत कुरा राखेका थिए ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, उहाँको कुरा सुन्ने र उहाँहरुको समस्याहरुको समाधान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक नगर समितिले कार्यक्रम आयोजना गरिएको बताए । उनले ज्येष्ठ नागरिकका अनुभव, योग्यता, समाजलाई सही मार्गदर्शन दिने ज्ञान, सीप र क्षमता रहेको बताए । उनले भने, ज्येष्ठ नागरिकले समाज, परिवार, देशलाई दिनु भएको योगदानको उच्च सम्मान छ ।

अब ज्येष्ठ नागरिकहरु आफ्नो जीवनको उत्तरार्धमा आइपुग्दा हामीले पनि केही दिन सक्छांै भन्ने भावना जागृत भएको नगरप्रमुखले बताए । नगरप्रमुखले ठट्यौली गर्दै भने, म पनि ५२ वर्षको भए, अब केही वर्ष पछि तपाइँहरु जस्तै ज्येष्ठ नागरिकको रुपमा हुनेछु । त्यसबेलाका लागि पनि मैले अहिले तपाइँहरुका लागि कुनै कुनै नयाँ काम गर्नेछु ।

ज्येष्ठ नागरिकको गुनासहरुको सुनवाई गर्दै नगरप्रमुख थोप्राले बीमा उपचार रेफरका लागि शिवसताक्षीका उत्तरी क्षेत्रका लागि सुरुङ्गाबाट सेवा लिन सजिलो र दक्षिणी भेगका लागि शिवसताक्षीको शिवगञ्ज स्वास्थ्य केन्द्रबाट दिने व्यवस्था मिलाइएको बताए । ज्येष्ठ नागरिकको उपचारका लागि दमक तथा बिर्तामोडसम्म जानुपर्ने बाध्यता हटाउन शिवगञ्ज अस्पतालमा पाँचजना डाक्टरहरुको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

सवारी साधनमा ज्येष्ठ नागरिकहरुलाई दुव्र्यवहार र छुट नदिएको विषयमा झापाका सबै स्थानीय तहका प्रमुखहरुसँग समन्वय गरी सिडिओसँग कुरा राख्ने र यातायात व्यवसायीसँग छलफलबाट टुंग्याउने उनले बताए ।

मादक पदार्थ तथा लागु औषध विरुद्ध अभियान चलाउन १५ वटै पालिकाको समन्वयमा जिल्लाव्यापी कार्यक्रम गर्ने छलफल भइरहेको छ । एउटा मात्र पालिकामा नियन्त्रण गर्दा मिछेकी पालिकामा गएर सेवन गर्ने भएकाले जिल्लाव्यापी रुपमा कार्यक्रम गर्नुपर्ने नगरप्रमुखले बताए । नगरप्रमुखले ज्येष्ठ नागरिकहरुले आफ्नै घरमा समस्या भोगिरहेको भए एक्ला–एक्लै कुरा राख्न समेत सुविधा दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले ज्येष्ठ नागरिकहरु जिउँदो भगवान भएकाले तपाईहरुको योगदान, दुःख र मेहनतले आज हामी यहाँसम्म आइपुगेका हौं भनी बताए । वडाबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, विभिन्न मठमन्दिरहरुमा तीर्थयात्रा गराइरहेको वडाध्यक्षले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकहरुका लागि वडाले वर्षेनी एक लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

कार्यक्रममा वडा नं. ८, ९, १० र ११ का दुईदुई जना ८० वर्ष माथिका बृद्ध बृद्धालाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक ११ नं. वडा समिति अध्यक्ष मित्रप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक नगर उपाध्यक्ष नरपति पाठकले गरेका थिए ।

सम्बन्धित खबर