२०८१ माघ २४, बिहिवार , ०४:१६:३५ बजे

Sajhamanch
'

राष्ट्रिय सभाको बैठक आइतबारसम्मका लागि स्थगित

बिहिवार, माघ २४, २०८१

काठमाडौं । अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएपछि बिहीबार राष्ट्रिय सभाको बैठक आधा घण्टा पनि बस्न सकेन । आजको बैठकमा दुईवटा विधेयक पेस गरिएको छ ।

त्यस्तै शून्य समयका विभिन्न दलका सांसदहरूले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका थिए ।

त्यस्तै शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी थिइन् । अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा अर्को बैठक बस्नेगरी आजको बैठक स्थगित भएको सूचना सभालाई जानकारी गराएका थिए ।

राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकार बिहीबारको बैठकका अध्यादेश प्रस्तुत गर्ने निर्णयबाट पछि हटेको हो । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई आज अध्यादेश प्रस्तुत नगर्ने जानकारी गराएका थिए ।

कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने संकेत जसपा नेपालले गरेको छ ।

अध्यादेश पारित गराउन प्रतिनिधिसभामा सत्तारूढ कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ भने राष्ट्रिय सभामा बहुमत पुर्‍याउन जसपा नेपालको साथ चाहिन्छ । संघीय संसद्का दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक प्रावधान छ ।