- सरोज भट्टराई
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालनमा छ । नगरभित्रका ज्येष्ठ नागरिकका समस्या र गुनासाहरु सुन्ने र त्यसको सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको तय गरिएको हो ।
यही शिलशिलामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले ज्येष्ठ नागरिकहरुसँग भलाकुसारी गरेका छन् । अशक्त बृद्धबृद्धाहरुले आफ्ना गुनासा नगरपालिकासम्म आएर भन्न सक्दैनन् । त्यसैले उनीहरु भएकै स्थानमा गएर कार्यक्रम गरिएको बताइएको छ ।
मंगलबार शिवसताक्षीको ६ नं. वडा कार्यालयमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम अन्तरगत भलाकुसारी गरिएको हो । सो कार्यक्रममा शिवसताक्षी वडा नं. ४, ५, ६ र ७ का ज्येष्ठ नागरिकहरुलाई भेला गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुले नगर प्रमुखसँग सार्वजनिक यातायातका साधनमा भाडा छुट नदिइने, औषधि उपचारका लागि स्वास्थ्य संस्थाहरुमा अरु सरह लाइन बस्नुपर्ने, वित्तीय संस्थाहरुमा घण्टौं लाममा बसेर मात्र सेवा लिन पाइने बाध्यता रहेको गुनासो गरेका थिए ।
सरकारले दिएको बीमा सुविधाबाट औषधि उपचार गर्न जाँदा तल्लो दर्जाको व्यवहार हुने गरेको, डाक्टरहरुले लेखेको औषधि नगरका स्वास्थ्य संस्थाहरुले नदिएको कुरा नगरप्रमुखसँग राखेका थिए ।
उनीहरुले नगरप्रमुखलाई ज्येष्ठ नागरिक चौतारा र भवन बनादिएकोमा धन्यवाद दिएका थिए । केही स्थानमा अझै चौतारा आवश्यक भएको र बनाइसकेको चौताराहरुमा शौचालय नभएको गुनासो गरेका थिए ।
नगर प्रमुखसँगको उक्त भलाकुसारीमा स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता, भौतिक पहुँच र मनोरञ्जनका सुविधाजस्ता विषयमा ज्येष्ठ नागरिकहरूले आफ्ना समस्या र सुझाव प्रस्तुत गरेको जनाइएको छ ।
कार्यक्रममा नगरप्रमुख थोप्राले ज्येष्ठ नागरिकहरूको गुनासो र सुझाव सुन्दै उनीहरूको हक अधिकारको संरक्षणमा नगरपालिकाको दायित्वलाई पुनः स्पष्ट पारेका थिए ।
नगर प्रमुखले ज्येष्ठ नागरिकका समस्याहरूलाई सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउँदै स्वास्थ्य सेवा विस्तार, ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण र सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउने योजना रहेको जानकारी दिए ।
‘उहाँहरुको आशीर्वाद र योगदानले आज हामी यहाँसम्म आइपुगेका हौं’ नगरप्रमुख थोप्राले भने, ‘ज्येष्ठ नागरिकसँगको भलाकुसारी उहाँहरुका समस्या र गुनासाहरुलाई सुनेर केही मल्हमपट्टी लगाउन आफ्नै योजनामा कार्यक्रम तय गरिएको हो ।’
जेष्ठ नागरिकका कुरा सुनिरहँदा नगर प्रमुख थोप्राले आफ्नै बुवा आमाले छोरासँग जीवनको उत्तराद्र्धमा गरेका हक, अधिकार र आवश्यकताका बारेमा कुरा राखेको आफूलाई अनुभूति भएको बताए ।
उनले ‘मेरो बुवाआमा भनेकै तपाईंहरु हो । जसरी मलाई मत दिएर नगरप्रमुख जस्तो ठाउँमा पुर्याउनु भयो, त्यसको गुण तिर्ने योजना बनाएको छु ।’
आगामी दशैंमा सामाजिक सुरक्षा भत्तासँगै शिवसताक्षी नगरको तर्फबाट ७० वर्ष पुगेका तपाई बुवा आमाले केही ‘सरप्राइज’ पाउनु हुनेछ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिकहरुलाई बुढेसकालमा सबैसँग भेला हुने, मनोरञ्जन गर्ने, सबैसँग तीतामिठा अनुभवहरु साटासाट गर्नका लागि वडाको सिलिङ बजेटबाट शिवसताक्षी ६ मा ज्येष्ठ नागरिक भेटघाट चौतारी निर्माण गरेको जानकारी दिए ।
ज्येष्ठ नागरिक नगर समितिले संयोजन गरेको कार्यक्रममा ८ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने २०० हाराहारी ज्येष्ठ नागरिकहरु सहभागी थिए ।