शिवसताक्षी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले सामाजिक सञ्जालका नियमनका बारेमा संसदमा विधेयक प्रस्तुत गरेर सरकारले भ्रामक, कपोलकल्पित, मिथ्या सूचनालाई फैलाउनेहरु विरुद्ध ऐन बनाएरै नियमन गरिन लागेको बताएका छन् ।
प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसका अवसरमा झापा जिल्ला कमिटीले मंगलबार शिवसताक्षी १० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि राईले सो कुरा बताएका हुन् ।
उनले भने, वर्तमान संयुक्त सरकार प्रेस स्वतन्त्रा माथिको बाह्य हमला रोक्न कटिबद्ध छ । प्रजातन्त्र एवम् लोकतन्त्रका लागि लडेका यी दुई शक्तिहरु यसको संरक्षणमा चीरकालसम्म रहिरहने छन् ।
पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका एमाले नेता राईले आफू संघीय सरकारको सञ्चार मन्त्री हुँदा ल्याइएको राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन भएपछि सञ्चार क्षेत्र व्यवस्थित भएको पनि बताएका छन् ।
तत्कालीन समयमा अनलाइन मिडियाहरु खुल्नेक्रमले तिब्रता पाएको थियो र अनाधिकृत रुपमा सञ्चालन गरी मिथ्या एवम् भ्रामक सूचनाहरु प्रवाह हुन थालेका थिए । आफू मन्त्री भएकाले सो कुराको ध्यानाकर्षण भई अनलाइन मिडियाहरु सञ्चालन सम्बन्धी नियमावली बनाएर जारी गरेको स्मरण गरे ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा आफ्नो कार्यकालमा केही बजेट विनियोजन भएको र आज यसको प्रत्यक्ष अवलोकन गर्दा उक्त बजेटको सही सदुपयोग भएको पाएकोमा खुसी पनि व्यक्त गरे ।
पत्रकारितालाई पर्यटनसँग जोड्ने उद्देश्यले प्रेस चौतारी नेपालको स्थापना दिवस दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा मनाएको हो । उक्त कार्यक्रममा दोमुखा विकास समितिका अध्यक्ष धनकुमार लावतीले तीनै तहको सरकारको वित्तीय सहयोगमा पर्यटन प्रवद्र्धन हुने गरी आफूहरुले काम गरिरहेको बताए ।
विशेष गरी शिवसताक्षी नगरपालिकाको वर्तमान सरकारले यसको विकासमा विशेष ध्यान दिएको सुनाउँदै अध्यक्ष लावतीले पर्यापर्यटनका लागि अझै धेरै काम गर्न बाँकी रहेकाले सर्वपक्षीय सहयोगको आवश्यकता पनि औंल्याए ।
सोही कार्यक्रमका बीच प्रेस चौतारी झापाको माघ ११ गते सम्पन्न १०औं जिल्ला अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय प्रतिनिधि परिषद र प्रदेश प्रतिनिधि परिषदका सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निर्वाचन समितिका सदस्य तथा संगठनका केन्द्रीय सदस्य गोपाल काफ्लेले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।
यसैबीच, प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार कोषमा आर्थिक सहयोगसमेत घोषणा भएको छ । कोषको संयोजकमा निर्वाचित भीमा सिवाकोटीले पदभार ग्रहण पछि आफ्नो प्रतिवद्धता मन्तब्य एवम् लक्ष्य घोषण पछि कार्यक्रमस्थलबाट सहयोग जुट्न थालेको हो ।
संयोजक सिवाकोटी स्वयम्ले २५ हजार पाँच रुपैयाँको चेक संगठनलाई हस्तान्तरण गरेर कामको थालनी गरेपछि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो मन्तब्यका क्रममा दिवंगत श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।
‘स्वर्गीय ज्ञानुराम प्रसाईले पत्रकारको हक हितका लागि सधैं काम गर्नु भएको स्मरण गर्दै उहाँको स्मरणलाई चीरस्थायी बनाउन पत्रकार उपचार सहयोग कोषमा ५१ हजार रुपैयाँ प्रदान गर्नेछु’ नगरप्रमुख महताराले आफ्नो सम्बोधनमा बताइन् ।
यसैगरी, नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कार्यक्रमकै बीच अखिल नेपाल महिला संघ झापाका कोषाध्यक्ष कल्पना चौंलागाईं (कोपिला)ले नगद ५ हजार १०० रुपैयाँ प्रदान गरिन् । उनले माघ २० गते परेको आफ्नो जन्म दिनको सन्दर्भ पारेर कोषमा रकम सहयोग गरेको जानकारी दिएकी छन् ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिा भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वनभोजसहित आयोजना गरिएको सो स्थापना दिवस समारोहको उद्घाटन ब्यानर ओपनिङ गरेर रचनात्मक तरिकाबाट गरिएको थियो । उक्त कार्य प्रमुख अतिथि राई, नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, झापा अध्यक्ष प्रेमबहादुर गिरी, सचिव तुलसी कार्की, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतरा प्रसाईलगायतले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा अश्लिल, मिथ्या तथा भ्रामक विषयवस्तु प्रचारप्रसार विरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौं भन्ने ब्यानरमा उपस्थित अतिथि एवम् पत्रकारहरुबाट हस्ताक्षरसमेत गराइएको थियो ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष राजु पोखरेलले शाब्दिक स्वागत र सचिव युवराज आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।