झापा । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलो पटक घिउ निर्यात गरेको पाँच वर्ष पुग्दा पनि अझै नयाँ ठूलो बजार पाउन सकेको छैन ।
आर्थिक वर्ष २०७७/७८ देखि नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ बराबरको घिउ जापान निर्यात गरेको थियो ।डीडीसीले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापान निर्यात थालेको थियो ।
नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ व्यापारमा ‘ब्रेक थ्रु’ गरेको थियो ।
त्यसपछि नेपाली डेरी उद्योगहरूकै पहलमा उद्योगीले अन्य देशमा समेत घिउ निर्यात थालिसकेका छन् । तर, डीडीसीले जापान बाहेक अन्य देशमा अहिलेसम्म बजार विस्तार गर्न सकेको छैन । यद्यपि, नेपाली डेरी उद्योगले पनि ठूलो बजार भने पाउन सकेका छैनन् ।
चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ५ करोड ६८ लाख ८१ हजार रुपैयाँ बराबरको मात्र दुग्धजन्य पदार्थ निर्यात भएको छ । यो भनेको १ लाख २२ हजार ३४८ किलो दुग्धजन्य पदार्थ हो ।
बजार नहुँदा अहिले डीडीसीको देशभरिका गोदाममा ५०० टनभन्दा बढी मखन थन्किएको छ । घिउ उत्पादन हुने मखनबाट हो, तर डीडीसीले पर्याप्त दूध बिक्री गर्न नसक्दा प्रशोधन गरेर मखन बनाउँदै गोदाममा राखेको छ ।
जापानमा मात्रै २ हजार ७०० किलो घिउ निर्यात भएको छ, जुन निजी र सरकारी दुवै क्षेत्रको कुल परिमाण हो । यस्तै निजी क्षेत्रबाट ३८ लाख ४० हजार रुपैयाँ बराबर घिउ भारत निर्यात भएको छ । डीडीसीले अहिले घिउबाहेक अन्य उत्पादन केही पनि निर्यात गर्न सकेको छैन ।