काठमाडौं । नेकपा (एमोल)की सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् ।
अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले संसद् सुरु हुनु पहिला वा संसद्को अन्त्य हुनेबित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।
‘अध्यादेशका बारेमा धेरै कुराहरू उठे । सुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्ने कुराहरू उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ,’ उनले भनिन्, ‘अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गदछु ।’
उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताउँदै सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने जिकिर गरिन् ।
‘शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु,’ उनले भनिन् ।