२०८१ माघ १८, शुक्रवार , ०२:५४:२७ बजे

Sajhamanch
'

यही सरकारले संविधान संशोधन विधेयक ल्याउँछ : प्रधानमन्त्री

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताएका हुन् ।

‘विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ,’ प्रधानमन्त्रीले भने, ‘मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ ।’

प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको बताए ।

‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।’

सम्बन्धित खबर