२०८१ माघ १८, शुक्रवार , १०:२८:०९ बजे

Sajhamanch
'

त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

शुक्रवार, माघ १८, २०८१

खोटाङ । त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।

हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय नगर सभाबाट पारित गरी आवश्यक काम थालिएको मेयर विमला राईले बताए।

उहाँका अनुसार पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्‍याउन पहल थालिएको हो ।

हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिङ्गापुर, जापान, रूस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका देशबाट पर्यटक आउने गरेका छन् ।

दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी मन्दिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ । हलेसी गुफाका बारेमा विभिन्न किंवदन्ती पाइन्छ ।

यसलाई किरातीले आफ्नो आदिम भूमि, बौद्ध धर्मालम्बीले दोस्रो लुम्बिनी र हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति भन्ने गर्छन् ।

हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले २०५३ सालदेखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको थियो ।

कोशी प्रदेशको मुख्य आर्थिक स्रोतमध्ये एक मानिएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । तर, कार्‍न्वयन प्रक्रिया फितलो भएको स्थानीयवासीको गुनासो छ ।

सम्बन्धित खबर