काठमाडौं । चीनको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् ।
सुन तस्करीबारे अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो ।
६ माघमा विभागले रसुवाका रामकृष्ण वाइबा, रसुवाकै गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घलेविरुद्ध मुद्दा दायर गरेको थियो ।
उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट ९नियन्त्रण तथा अनुसन्धान० ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
पाँच जनाविरुद्ध कुल १९ करोड ४ लाख ५५ हजार बिगो र सोही बराबरको जरिवना मागदाबी गरिएको थियो । पक्राउ परेकाहरु सबैलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ माघमा उच्च अदालत न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो । सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।
घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।
परिसरबाट उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको थियो । उक्त मुद्दामा धरौटी माग भएपछि उनीहरुलाई सुन तस्करीबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाइएको थियो ।
केरुङ नाकाबाट आएको भनिएको उक्त सुन धादिङको खानिखोला आएपछि हतियारधारी समूहले लुटेको बताइएको छ । उक्त कसले लुट्यो र कहाँ पुर्यो भन्नेबारे अहिलेसम्म अज्ञात नै छ । यता सुन लुटिएर अपहरण गरेर बन्धक बनाइएका चालक वाइबाले २० लाख रुपैयाँको चेक काटेपछि मात्रै उनी अपहरण मुक्त भएका थिए ।
उनै वाइबाले अपहरणबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान गर्दा अपहरणको कारण सुनसँग जोडिएको खुलेको थियो ।