२०८१ माघ १७, बिहिवार , ०८:१०:०६ बजे

Sajhamanch
'

बिर्तामोडमा गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको सभामुख घिमिरेद्वारा उद्घाटन गरिँदै

बिहिवार, माघ १७, २०८१

झापा । बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको अहिले बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच सभामुख घिमिरेले कलसमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र ५०० भन्दा बढी भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमा पछि गायत्री मन्दिर परिसरमा पुगेर कलश यात्रा बिर्सजन हुने जनाइएको छ ।

कार्यक्रम संयोजक रौनक वंशलका अनुसार कलशयात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र १०० जना बटुकबाट अनुष्ठान गरिने वंशलको भनाई छ ।

नेपाल र भारतका ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको र स्थानीय भजन कीर्तन मण्डलीले समेत पाँच दिनसम्म भजन कीर्तन गर्ने बताइएको छ ।

आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।

यस्तै, माघ २१ गते विधिपूर्वक प्राणप्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राणप्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

बिर्तामोड ५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरु, बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

अढाई करोड रुपैयाँ लगानी गर्दै माताको मन्दिर निर्माण सम्पन्न गरिएसँगै मन्दिर उद्घाटन गर्नु पूर्व मन्दिरको सजावट, शनिश्चिरे रोड सरसफाईदेखि अनुष्ठान परिसर नजिकै घुम्ती शौचालय निर्माणको काम सम्पन्न गरिएको वंशलले जनाए ।

सम्बन्धित खबर